
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले देशभरका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ।
भर्नाका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ।
प्रहरीका अनुसार पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति, छिमेकी देशका सुरक्षा निकायमा सेवा गरी अवकाश पाएका तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी, फौजदारी कसुरमा सजाय नपाएको, नैतिक पतन नभएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्ति मात्र भर्ना प्रक्रियामा सहभागी हुन पाउने स्पष्ट गरिएको छ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा चुनावका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुल्यो


