गल्कोट । सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गल्कोट नगरपालिका–४ डाँडाखेतको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभामा संस्थाका अध्यक्ष हेमराज गैरेले संस्थाको अवधारणा प्रस्तुत गर्नुभएको थियो भने सचिव कृष्णकुमार सुवेदीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित कार्यक्रम पेस गर्नुभयो। यस्तै कोषाध्यक्ष खुमप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक सुरमणी शर्माले लेखा प्रतिवेदन पेस गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सहकारी संस्थाहरू जनताको विश्वास र सामूहिक प्रयासबाट निर्माण हुने साझा घर भएको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो समय देशका विभिन्न ठाउँमा सहकारीप्रति नकारात्मक चर्चा भए पनि स्थानीय तहमा जनताकै सक्रिय सहभागिताबाट सञ्चालित सहकारीहरूमा त्यसको प्रभाव नपरेको बताउनुभयो।
नगर प्रमुख गैरेले सहकारी केवल पैसा जम्मा गर्ने र ऋण दिने संस्था मात्र नभई सदस्यहरूको जीवनस्तर सुधार गर्ने बलियो माध्यम भएको धारणा राख्नुभयो। उहाँले सहकारीले उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बेला आएको बताउँदै “सहकारी राम्रो बनाउन नेतृत्व मात्र होइन, प्रत्येक शेयर सदस्यको इमान्दार सहभागिता र जिम्मेवारी जरुरी रहेको बताउनुभयो l
सभामा जिल्ला सहकारी संघका जिल्ला सदस्य शिवकुमारी खत्री, संस्थाका संस्थापक अध्यक्ष चिन्तामणी शर्मा र पूर्व लेखा समिति संयोजक हरिदत्त सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शेयर सदस्य, बचतकर्ता, असल ऋणी, कर्मचारी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यस्तै संस्थाका संस्थापक अध्यक्ष चिन्तामणी शर्मा, निवर्तमान सञ्चालक समिति सदस्य जितबहादुर खत्री र कृष्णबहादुर भण्डारीलाई पनि सम्मान गरिएको थियो।
साथै, शेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने समिक्षा गैरे, अमृत सुवेदी र अनुश परियारलाई जनही ३ हजार रुपैयाँ तथा कक्षा ८ उत्तीर्ण उत्कृष्ट पाँच जना विद्यार्थीलाई जनही २ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ।
हाल सहकारीमा १ हजार ७ सय ६३ जना शेयर सदस्य रहेका छन्। सहकारीको कुल शेयर पूँजी २ करोड ५५ लाख ४ हजार ८ सय रुपैयाँ रहेको जानकारी संस्थाका प्रवन्धक रविलाल शर्माले दिनुभयो।
कार्यक्रम संस्थाका अध्यक्ष हेमराज गैरेको अध्यक्षता, उपाध्यक्ष टिकामाया गौतमको स्वागत मन्तव्य र सचिव कृष्णकुमार सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।


