गलकोट, बागलुङ – प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेकपा एमाले गलकोट नगरपालिका वडा नं. ३ मा विस्तारित वडा बैठक सम्पन्न भएको छ। बैठकमा बागलुङ जिल्ला क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेको समर्थनमा रणनीति तय गरिएको थियो।
बैठकमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर उपाध्यक्ष ईश्वर बोहोरा, नगर सचिव दान बहादुर श्रीस र डा. टंक चालिसेले मन्तव्य राख्दै पार्टी एकता, राष्ट्रियता र सार्वभौमिकताको रक्षामा कार्यकर्ताको सक्रियतामा जोड दिनुभयो। बैठकमा पार्टी भित्रका साना विवादमा नअल्झिन निर्देशन समेत दिइएको थियो।
बैठकले नेकपा एमाले गलकोट–३ वडा कमिटिका अध्यक्ष हर्क पन्तको संयोजकत्वमा ८१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बैठक अध्यक्ष हर्क पन्तको अध्यक्षता, सदस्य राम बहादुर बोहोराको स्वागत र सञ्चालनमा सम्पन्न भएको थियो।
साथै, यो बैठकको श्रृङ्खला आगामी बिहीबार गलकोट–२ मा सञ्चालन हुने जानकारी दिइएको छ।
मञ्जु चालिसेको समर्थनमा एमालेको रणनीति तय, ८१ सदस्यीय निर्वाचन समिति गठन


