
बागलुङ जिल्लाका विभिन्न पालिकामा पर्ने १२५ वटा खानेपानी मुहानमा दिसामा पाइने कोलिफर्म नामक जीवाणु भेटिएको छ।
यसबाट लाखौं स्थानीय बासिन्दा झाडा–पखाला, टाइफाइड, जन्डिस जस्ता सरुवा रोगको उच्च जोखिममा परेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्ला भित्रका ३४१ मुहान परीक्षण गर्दा १२५ वटा मुहान मा कोलिफर्मको संक्रमण पत्ता लगाएको हो।
यो संख्या अघिल्लो वर्षको १०३ मुहानको तुलनामा उल्लेखनीय रूपमा बढी हो।
जैमिनी, गलकोटमा सर्वाधिक दूषित मुहान
सबैभन्दा धेरै कोलिफर्म भेटिएको पालिका जैमिनी नगरपालिका हो, जहाँ १०६ मुहान परीक्षण गर्दा ४२ वटा दूषित भेटिएका छन्।
त्यस्तै, गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण हुँदा ४० मुहान मा कोलिफर्म देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए।
अन्य पालिकाहरूको स्थिति यसप्रकार छ:
पालिका परीक्षण सङ्ख्या कोलिफर्म भेटिएको
जैमिनी नगरपालिका 106_42
गलकोट नगरपालिका 91_40
काठेखोला गाउँपालिका 47_27
बडिगाड गाउँपालिका 68_10
बागलुङ नगरपालिका 24 4
ढोरपाटन नगरपालिका 5_0
निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने हालसम्म परीक्षण गरिएको छैन।
संक्रमण बढ्नुको कारण– खुला मुहान र सरसफाइको कमी
“पानीका मुहानहरू अझै पनि खुला छन्, चौपाया र मानव गतिविधिबाट दूषित हुने सम्भावना धेरै छ,” आचार्यले भने।
“हामीले परीक्षणको दायरा बढाउँदै छौँ र थप स्थानबाट नमूना संकलनको आग्रह गरिरहेका छौँ,” उनले भने।


