
गलकोट नगरपालिका वडा नं. ४ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सेमी फोल्डिङ बेड हस्तान्तरण गरिएको छ। गलकोट नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअन्तर्गत क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री वितरण गरिएको हो।
यसअन्तर्गत वडा नं. ४ नुवाकोटका ताल बहादुर साहनी र खरुवा निवासी दल बहादुर खड्कालाई घरमै पुगेर सेमी फोल्डिङ बेड हस्तान्तरण गरिएको शाखा प्रमुख संगीता श्रीसले जानकारी दिइन्।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख फमलाल निउरेले नगरपालिका सबै नागरिकको समान अधिकार र सम्मानको पक्षधर रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले अपाङ्गता कुनै कमजोरी नभई समाजको हिस्सा भएकाले सबैले सम्मान गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, वडा अध्यक्ष बल बहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख पारस पंगेनी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख संगीता श्रीस, सूचना प्रविधि शाखा प्रमुख राजु साहानी र बौर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गणेश सुनारको उपस्थिति रहेको थियो।
विगत लामो समयदेखि थला परेका बिरामीलाई यस्तो बेडले लामो समयसम्म बस्न र सामान्य शारीरिक हलचल गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिइएको छ।


