![]()
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र रुपमा बढ्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार पुसयता हालसम्म ८११ जनामा डेङ्गु पुष्टि भइसकेको छ। पछिल्ला तीन सातामात्रै २०२ जना नयाँ संक्रमित थपिएका छन्।
सबैभन्दा बढी संक्रमित कास्कीमा भेटिएका छन्। कास्कीमा ४४१ जना डेङ्गु रोगीमध्ये पोखरामात्रै ४३२ जना छन्। त्यसपछि तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङ र स्याङ्जामा ३२–३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा ४ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको छ। मनाङमा भने हालसम्म डेङ्गु देखिएको छैन।
गत वर्ष पोखरा महानगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको थियो। त्यतिबेला पोखरामात्रै करिब ८ हजार ६ सयभन्दा बढीमा संक्रमण देखिएको थियो भने ३ जनाको मृत्यु भएको थियो।
स्वास्थ्यकर्मीहरूले साउनदेखि कात्तिकसम्म डेङ्गु फैलिने जोखिम बढी हुने भएकाले आगामी दिनमा संक्रमण अझै बढ्ने चेतावनी दिएका छन्।
संक्रमण रोकथामका लागि प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य निकायहरूले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्। साथै, घर–आँगन, कार्यालय तथा सार्वजनिक स्थलमा पानी जम्न नदिन, पुराना टायर, ड्रम, भाँडाकुँडामा पानी नथाम्ने र सरसफाइमा ध्यान दिन आम जनतालाई आग्रह गरिएको छ।
डेङ्गु रोग ‘एडिस एजिप्टाइ’ नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।


