Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

हरिचौर–पाण्डवखानी सडकमा तीव्रता, पाँच किलोमिटर कालोपत्र पूर्वाधार तयार

Advertisement

Advertisement

बागलुङको हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडक स्तरोन्नति कार्य तिव्र गतिमा अघि बढिरहेको छ। ‘एक निर्वाचन क्षेत्र–एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत पर्ने ८ किलोमिटर लामो सडकमध्ये हाल ७० प्रतिशत भौतिक प्रगति पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

आर्थिक वर्ष २०७९ भदौमा रु. २५ करोड २० लाख लागतमा सम्झौता भएको उक्त परियोजना २०८२ फागुन ५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, ठेकेदार कम्पनीले पहिलो दुई वर्षमा २५ प्रतिशत मात्र कार्य सम्पन्न गरेको हुँदा म्याद थपिएको थियो। म्याद थपिएसँगै काममा उल्लेखनीय सुधार देखिएको डिभिजनले बताएको छ।

हालसम्मको प्रगतिअनुसार ५ किलोमिटर सडक कालोपत्रका लागि बेस तयार, १ किलोमिटर ढलान कार्य सम्पन्न, बाँकी २ किलोमिटरमा पूर्वाधार निर्माण कार्य जारी रहेको छ।

सडक डिभिजनका इञ्जिनियर सागर भण्डारीका अनुसार परियोजनाको आर्थिक प्रगति ६० प्रतिशत पुगेको छ। वर्तमान कार्यगतिलाई हेर्दा एकपटक फेरि म्याद थप्नुपर्ने सम्भावना रहेको उनको भनाइ छ। भुक्तानी प्रक्रियामा कुनै अवरोध नरहेको पनि उनले स्पष्ट पारे।

यो सडक कालोपत्र भएपछि गलकोट नगरपालिका, बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्ने करिब ४० किमी लामो मार्ग सहज र गतिशील हुने अपेक्षा गरिएको छ। यसले स्थानीय यातायात, कृषि उत्पादित वस्तुको ढुवानी तथा पर्यटकीय सम्भावनामा पनि सकारात्मक प्रभाव पार्ने बताइएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.