बागलुङ । देशका प्रमुख राजनीतिक दलहरू यतिबेला आ–आफ्नो पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा केन्द्रित भएका छन्। संसदमा प्रतिनिधित्व गर्ने ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनःस्थापनाको सम्भावनासँगै आगामी निर्वाचनको रणनीतिमा जुटिरहेका छन्।
यसैबीच, २०७९ मंसिरको आम निर्वाचनअघि गठन भई संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सक्रिय रूपमा निर्वाचन केन्द्रित अभियानमा होमिएको छ। बागलुङमा हालै सम्पन्न जिल्लाको विस्तारित बैठकले दुवै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ।
यसै सन्दर्भमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले पुस ४ गते शुक्रबार बागलुङ आउने कार्यक्रम तय भएको छ। निर्वाचन केन्द्रित अभियान तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे पार्टी नेता–कार्यकर्तालाई प्रशिक्षण दिन वाग्ले बागलुङ आउन लागेको रास्वपा जैमिनी नगर सभापति राजेन्द्र शर्माले जानकारी दिनुभयो।
कार्यक्रमका क्रममा अन्य राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गरिने पनि जनाइएको छ। रास्वपाका सभापति रवि लामिछाने हाल पूर्पक्षका लागि कारागारमा रहेको अवस्थामा पार्टीको आधिकारिक धारणा प्रवाह गर्ने जिम्मेवारी उपसभापति वाग्ले लगायतका नेताहरूले सम्हाल्दै आएका छन्।
उक्त कार्यक्रम प्रभावकारी र सन्देशमूलक हुने विश्वास रास्वपा नेता खिमानन्द कँडेलले व्यक्त गर्नुभयो। तस्बिर .aadarshasanchar


