Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

डढेलो नियन्त्रणका लागि तयारी हुन राष्ट्रिय निकुञ्जको आग्रह

Advertisement

Advertisement

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवाला चनाखो बन्न आग्रह गरिएको छ ।फागनु लागेपछि वन क्षेत्रमा हुन आगलागीका कारण विभिन्न समयमा धनजनको क्षति हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो ।

डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सवडिभिजनलाई पत्राचार गरिसकिएको छ । सबै सवडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका काम भइरहेको उहाँले बताउनुभयो । बरण्डाभार क्षेत्रमा बढी मात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ ।

स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीचको अन्तरक्रियासहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । यसै अभियानका लागि कार्यालयले हरित स्वयंसेवक छनोटको काम सकेको उहाँले जानकारी दिनुभयो । वन रक्षकसहित हरित स्वयंसेवकले डढेलोका कारण हुन सक्ने क्षति न्यूनीकरण, डढेलो नियन्त्रणलगायत क्षेत्रमा काम गर्नेछन् ।

पौडेलले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री समुदायस्तरमा पुर्‍याइएको छ भने केही पुर्‍याउन बाँकी रहेको छ । हरेक सवडिभिजन क्षेत्रमा रहेको नेपाल प्रहरी एवं सुरक्षाकर्मीहरूलाई अग्नि नियन्त्रक सामग्री उपलव्ध गराउने तयारी गरेका छौँ ।” पानीको ट्याङ्की, फायर स्वाटर, वाटर ब्याग, वाइन्डव्लोर लगायतका सामग्री खरिद गरी वितरणको प्रक्रिया सुरू गरिएको उहाँले बताउनुभयो ।

वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदा चुरोट खाएर ठुटा ननिभाई फाल्ने, आगो लगाएर ननिभाई हिँड्ने जस्ता कार्यले गर्दा आगो बस्तीमा पस्ने गरेको उहाँले बताउनुभयो । यसलाई रोक्नका लागि डिभिजन वन कार्यालयअन्तर्गत रहेका सामूदायिक वन, कवुलियती वन, धार्मिक वन र संरक्षित क्षेत्र परिषद्का उपभोक्तालाई सचेतनाका लागि अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । वन कार्यालय मातहतमा ५४ हजार हेक्टरभन्दा बढी जमिनमा रहेको वन रहेको छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेको भन्दै उपभोक्तालाई सजग रहन आग्रह गर्नुभयो । निकुञ्जको कूल क्षेत्रफल नौ सय ५२ दशमलव ६२ वर्ग किलोमिटर रहेको भए पनि मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न आउनेले आगो लगाइ दिँदा निकुञ्जको चुरे क्षेत्र बढी प्रभावित बन्ने गरेको उहाँले बताउनुभयो ।

कतिपय स्थानमा निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि आफैँ डढेलो लगाउने गरेको भए पनि अनियन्त्रित डढेलोका कारण वन र वन्यजन्तुमा नकारात्मक प्रभाव पर्ने भएकाले डढेलो लाग्न नदिने उपायको बारेमा स्थानीय उपभोक्तासँग छलफल गरिएको उहाँले बताउनुभयो । अहिले निकुञ्जमा फायरलाइन निर्माण, सरसफाइ, अग्नि नियन्त्रण सामग्रीको मर्मतलगायत काम भइरहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा प्रयाप्त मात्रामा अग्नि नियन्त्रणका लागि सामग्री नभए पनि उपलब्ध सामग्रीबाट काम लिइँदै आइएको छ ।

 

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.