
गलकोट नगरपालिका वडा नं–५ की वरिष्ठ समाजसेवी श्रीमती देउ कुमारी मल्लले आफ्नो जन्मोत्सवको अवसरमा गलकोट नगर अस्पतालमा सामाजिक सेवामूलक कार्य सम्पन्न गरेकी छिन्।
उहाँले अस्पतालमा आउने सेवाग्राहीहरूको सहजताको लागि ३ सिटको २ सेट चेयर उपलब्ध गराउनुका साथै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेकी हुन्।
समाजसेवा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी मल्लले आफ्नो जन्मदिनलाई भव्यतापूर्वक भोज र कार्यक्रममा सीमित नराखी सामाजिक हितका लागि उपयोग गर्नुभएकोमा स्थानीयवासी, अस्पताल परिवार र शुभेच्छुकहरूले प्रशंसा व्यक्त गरेका छन्।
अस्पताल प्रशासनका अनुसार चेयरहरूको सहयोगले प्रतिक्षालयमा बिरामी तथा सेवाग्राहीहरूलाई बस्न सजिलो हुने छ। फलफूल वितरणले अस्पतालमा उपचाररत बिरामीहरूमा मानसिक रुपमा सकारात्मक असर पारेको जनाइएको छ।
गलकोट नगरभित्र यस्ता सकारात्मक गतिविधिहरूले समाजमा सेवा भावना बढाउने विश्वास गरिएको छ।
श्रीमती मल्लज्यूलाई शुभ जन्मोत्सवको शुभकामना दिँदै गलकोट नगर अस्पताल परिवार तथा सम्पूर्ण नगरवासीहरूले उहाँको उत्तरोत्तर सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।


