मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड वर्षौँदेखि कालोपत्र नहुँदा यात्रु र स्थानीयले दैनिक सास्ती व्यहोर्दै आएका छन्। विशेषगरी बिहुँ–घोडाबाधे १३ किलोमिटर खण्डमध्ये करिब ६ किलोमिटर अझै कालोपत्र नहुँदा गाडी फस्ने समस्या अझै जटिल बनेको छ।
आज पनि बिहान चितवनबाट गलकोटतर्फ सामान लिएर आएको मिनि ट्रक बिहुँमा फसेपछि यात्रुहरू घण्टौँ बाटोमा अलपत्र परे। चालक रमण शर्माले “यो बाटोमा यात्रा गर्नु भनेको साह्रै दुःख पर्खनु हो, हिउँदमा धुलोले हैरान, वर्षामा हिलोले फसाउँछ,” भन्दै पीडा सुनाए।
यात्रु मात्रै होइन, स्थानीयहरू समेत वर्षौँदेखि यस्तै अवस्थाको मारमा छन्। घोडाबाधे नजिकैकी स्थानीय वसन्ती थापाले भनिन्, “हामीलाई बजार जानै समस्या छ, बिरामी परे एम्बुलेन्स चल्न सक्दैन, सरकारी कार्यालयका मान्छे आउँदैनन्। सडककै कारण हामी वन्धकजस्तै भएका छौँ।”
बागलुङ बजारदेखि घोडाबाधेसम्म २५ किलोमिटर सडक कालोपत्र गर्न नौ वर्षअघि दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो। तर बिहुँ–घोडाबाधे खण्ड अझै अलपत्र छ। अघिल्लो ठेक्का तोडिएपछि गत वर्ष तामाङ–रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी पुनः सम्झौता भए पनि एक वर्षमा जम्मा १० प्रतिशत मात्र प्रगति भएको छ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी इञ्जिनियर कल्पना मिश्रका अनुसार सडक चौडा पार्दा माटो नथिचिएको र वर्षा लागेकाले हिलाम्मे बढेको हो। “डोजर तयारी अवस्थामा छ, तर निर्माण कार्य अघि बढाउन मौसमले साथ दिएको छैन,” उनले भनिन्।
यद्यपि, स्थानीयको बुझाइ फरक छ। “ठेकेदारले कामचाहिँ नगर्ने, सरकार मौन बस्ने, सास्ती भने हामीले मात्र पाउने,” स्थानीय यमबहादुर पुनले आक्रोश पोखे।
यात्री र स्थानीय दुवैको साझा पीडा यही हो – विकासका ठूला सपना बाँडिएका छन्, तर सडक अलपत्र पर्दा उनीहरूको दैनिकी अझै अन्धकारमै छ।
तस्बिर: रासस


