गलकोट नगरपालिका–४ मा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता गलकोट नगरपालिकाको आयोजनामा र प्राप्ती महिला सञ्जाल वडा नम्बर ४ को समन्वयमा भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा मगरले तीज पर्वलाई भड्किलो बनाउनुभन्दा समाजमा चेतना भर्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– “पछिल्लो समय न्याय, मुक्ति र समानतासँग सम्बन्धित गीत गाउने बेला समाजमा अपाच्य हुने गीतहरु आएको देखिन्छ। त्यस्ता सिर्जना गर्नेहरुलाई सचेत गराउनुपर्छ। सभ्य समाज निर्माणका लागि सहयोग गर्ने गीत–संगीतलाई प्रोत्साहन गर्न आवश्यक छ।”
उहाँले अझ भन्नुभयो– “तीजलाई सबैको सम्मान गर्ने, शिक्षा दिने र सिकाउने खालको पर्व बनाउनुपर्छ। हिजोको अवस्थाबाट आजसम्म आइपुग्दा महिलालाई ‘मान्छे’ भनेर गनिने अवस्था बनेको छ। यसमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैको ठूलो योगदान छ।”
त्यस्तै, बागलुङ जिल्ला समन्वय समिति सदस्य धना खत्री, वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्री, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी कोषाध्यक्ष ललिता थापा, नेपाल महिला संघ नगर अध्यक्ष मिना श्रेष्ठ, अखिल नेपाल महिला संघ क्रान्तिकारी गलकोटकी अध्यक्ष कौशिला घर्ती मगर, अखिल नेपाल महिला संघ नगर अध्यक्ष देवी खत्री, कार्यपालिका सदस्य टिका सुवेदी, सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
१० समूह सहभागी उक्त प्रतियोगितामा प्राप्ती महिला सञ्जाल गलकोट–४ प्रथम, वडा स्तरीय महिला समूह गलकोट–५ हरिचौर द्वितीय र ग्रामीण महिला आत्मनिर्भर समाज गलकोट–८ तृतीय भएका छन्।
कार्यक्रमको अध्यक्षता गलकोट नगरपालिकाका कार्यवाहक प्रमुख फमलाल निउरेले गर्नुभएको थियो। प्राप्ती महिला सञ्जालकी अध्यक्ष उमा शर्मा न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो साथै गलकोट नगरपालिकाका प्रास मनु सिंजाली र सचिव खिमा भण्डारीले सन्चालन गर्नुभएको थियो।


