
गलकोट । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा गलकोट नगरपालिका वडा नं. ४ मा रक्तसमूह पहिचान, रक्तदान तथा आजीवन सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी ओखरबोट उपशाखाको आयोजनामा, गलकोट नगर अस्पताल गलकोटको समन्वय, रोट्रयाक्ट क्लब अफ गलकोट बागलुङको सहकार्य तथा बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले दुखमा परेकालाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै रक्तदानलाई जीवनदानका रूपमा लिन सबैलाई आग्रह गर्नुभएको थियो ।
त्यस्तै गलकोट नगरपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारी, हटिया उपशाखाका सभापति नवराज गौतम, नेरेठाँटी उपशाखाका उपसभापति जमुना कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश सुनारले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै स्वास्थ्यसम्बन्धी जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा ओखरबोट उपशाखाका सचिव दोर्णराज पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा २० देखि ६० वर्ष उमेर समूहका २११ जनाको रक्तसमूह पहिचान गरिएको थियो भने ७ जनाले रक्तदान गरेका थिए । साथै ६० जना नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै रोट्रयाक्ट क्लब अफ गलकोटका अध्यक्ष नवीन सुबेदिले युवाहरू समाजसेवामा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै रक्त समूह पहिचान अभियानलाई गलकोटका अन्य वडामा पनि छिट्टै विस्तार गरिने जानकारी गराउनु भएको थियो । उहाँले क्लब सधैं समाजोपयोगी कार्यमा तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ गलकोट र लायन्स क्लब अफ गलकोट घुम्टेले फलफुल बितरण गरेको थियो l
कार्यक्रम ओखरबोट उपशाखाका सभापति श्री हेमराज गैरेको सभापतित्व उपसभापति ईश्वरी न्यौपानेको स्वागत र सचिव द्रोणराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।


