
गल्कोट नगरपालिका–४, चमुवामा अवस्थित श्री चमुवा आधारभूत विद्यालयले शिक्षक विदाई तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक यामलाल सुवेदी र खिमानन्द सुवेदीलाई बिदाइ गरिएको थियो। यामलाल सुवेदीले २०४५ साल असार १० गतेदेखि २०७० साल जेठ ६ गतेसम्म विद्यालयमा शिक्षण सेवा दिनुभएको थियो भने खिमानन्द सुवेदीले २०७० साल असार ११ गतेदेखि २०८० साल असार १० गतेसम्म निरन्तर शिक्षण सेवा प्रदान गर्नुभएको थियो।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास सुवेदीले विद्यालयको शैक्षिक विकासमा दुवै शिक्षकले पुर्याउनुभएको योगदान स्मरणीय रहेको भन्दै उहाँहरुको शिक्षा क्षेत्रप्रतिको समर्पण प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक नवीन सुबेदिले पूर्व शिक्षकहरूले विद्यालयमा देखाएको समर्पण र मेहनतले आगामी पुस्तालाई प्रेरणा दिने भन्दै उहाँहरूलाई विदाई मात्र नभई निरन्तर सम्बन्ध र प्रेरणाको रुपमा स्मरण गरिरहिने बताउनु भएको थियो l
कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य कृष्णबहादुर भण्डारी, खिमलाल शर्मा र डिलाराम शर्माले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कल्पना गौतम सुबेदिले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षक धनप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।


