काठमाण्डौ – नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आजको मूल्यले सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो। यसअघि शुक्रवार सुन तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको भाउ तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
यता चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा ८० रुपैयाँले घट्दै ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रवार चाँदीको मूल्य तोलाको ३ हजार ९ सय ५ रुपैयाँ थियो।


