काठमाडौं — आइतबार नेपालका बजारमा सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन यसैको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको दर घटेपछि नेपाली बजारमा पनि सोको सीधा प्रभाव परेको महासंघले जनाएको छ।
यसअघि असोज ३१ गते नेपालमा सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १५० रुपैयाँले सस्तो भएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ। असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको थियो।


