शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यसै सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
विगत एक महिनामा मात्र सुनको मूल्यमा ठूलो उछाल आएको छ । भदौ ३० गते सुन प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार हुँदै आएकोमा हालसम्म ४३ हजार रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा परिरहेको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । (एक औंस बराबर २.४३ तोला हुन्छ।)
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७५ रुपैयाँले वृद्धि भई ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आजको मूल्य सारांश:
सुन (प्रतितोला): रु. २,५८,०००
चाँदी (प्रतितोला): रु. ३,३५०


