म्याग्दी — म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारीले म्याग्दी र मुस्ताङ भ्रमणमा निस्कने पर्यटकलाई पहिले नै होटल बुक गरेर मात्र आउन आग्रह गरेका छन्।
उनका अनुसार हाल दुवै जिल्लामा पर्यटकको असामान्य चाप रहेको र अधिकांश होटलहरू पहिले नै भरिसकेका छन्। “यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप अत्याधिक छ। जसका कारण होटल नपाएको गुनासो पनि आएको छ,” तिवारीले भने, “बस्ने ठाउँ सुनिश्चित गरेर मात्र आउनुहोस्।”
हाल मुस्ताङका मार्फा, मुक्तिनाथ, कोरला नाका तथा म्याग्दीका तातोपानी र नर्थ अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पर्यटकको घुइँचो देखिएको छ।
साथै उनले मुस्ताङतर्फ यात्रा गर्न लाग्ने पर्यटकलाई फोर–विल गाडी प्रयोग गर्न र न्यानो कपडा लगाएर यात्रा गर्न सुझाव दिएका छन्।
“केही स्थानमा बाटो मर्मत भइरहेका छन्, कतै पहिरोका कारण खाल्डाखुल्डी पनि छन्,” तिवारीले बताए, “त्यसैले सावधानी अपनाएर यात्रा गर्नुहोस्।”


