बागलुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बागलुङमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ।
निर्वाचनको मिति घोषणा भएको असोज ९ गतेदेखि हालसम्म जिल्लामा ६३१ जनाको नयाँ मतदाता नामावली दर्ता, ३१६ जनाको ठाउँसरी, र ५१ जनाको त्रुटी सच्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले जानकारी दिए।
रिजालका अनुसार नामावली दर्ता, ठाउँसरी तथा त्रुटी सच्याउने काम जिल्ला निर्वाचन कार्यालय बागलुङबाट दैनिक रूपमा भइरहेको छ। असोज ९ गतेपछि ठाउँसरी र त्रुटी सच्याउने प्रक्रिया अनलाइन तथा कार्यालय दुवैबाट गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
उनका अनुसार नयाँ मतदाता दर्ता भने अनलाइन फाराम भरेर जैविक विवरण (biometric) बुझाउन अनिवार्य रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने छ।
रिजालले भने, ‘‘नेपालको जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता वा अद्यावधिक गर्न सकिन्छ। बागलुङ जिल्लाको नागरिक भएकाले यतै आउनुपर्छ भन्ने छैन।’’
ठाउँसरीका लागि बसाइसराइँ दर्ता प्रमाणपत्र वा विवाह दर्ता प्रमाण अनिवार्य रहेको छ।
नाम, नागरिकता नम्बर, बाबु–आमाको नाम, निर्वाचन केन्द्र लगायतका विवरणमा देखिएका त्रुटीहरू सच्याउने काम पनि निरन्तर भइरहेको कार्यालयले जनाएको छ।
हाल जिल्लाको इलाका प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा नामावली दर्ता तथा अद्यावधिक सेवा सञ्चालनमा छैन। आयोगको जनशक्ति, बजेट तथा निर्वाचन तालिका अनुसार हाललाई जिल्ला निर्वाचन कार्यालयबाट मात्र सेवा उपलब्ध छ।
निर्वाचन आयोगका अनुसार कात्तिक ३० गतेसम्म नयाँ नामावली दर्ता र ठाउँसरी गर्न सकिनेछ।
पछिल्लो अद्यावधिक नामावली अनुसार बागलुङमा १ लाख ७९ हजार १७३ मतदाता छन्।
जसमध्ये महिला ९७ हजार ३४ र पुरुष ९२ हजार १३९ जना छन्। जिल्लामा १०६ मतदान स्थल रहेका छन्, भने मतदाताको संख्याका आधारमा मतदान केन्द्रहरूको व्यवस्थापन गरिनेछ।
कात्तिक ३० गतेसम्म नामावली दर्ता जारी रहने भएकाले मतदाताको संख्या अहिलेभन्दा केही बढ्ने अनुमान गरिएको छ।
तस्बिर :aadarshasanchar


