गलकोट ।
गलकोट नगरपालिका–१० अन्तर्गत पर्ने दुर्गम बस्ती रमुवा गाउँमा आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत पाँचवटा विकास योजनाको अनुगमन तथा सर्वे कार्य सम्पन्न भएको छ।
गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ता समितिका प्रतिनिधिसहित करिब ३३ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले चालु आर्थिक वर्षमा स्वीकृत सबै योजनाहरू सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिनुभयो। उहाँले योजनाहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
अनुगमन तथा सर्वे क्रममा नगरपालिकाका प्राविधिक नेत्रप्रसाद लामिछानेले योजनाको प्राविधिक अवस्था, आवश्यक सुधार र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा वडा नम्बर ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा विभिन्न योजनाका उपभोक्ता समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम वडा सदस्य कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। अनुगमनपछि स्थानीय बासिन्दाले दुर्गम क्षेत्रमा विकास योजनाको प्रभावकारी कार्यान्वयनले जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सुरेश छन्त्याल


