गलकोट । गलकोट नगरपालिका–१०, पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघको पहिलो बैठक सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीले विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायबीच एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
“विद्यालयको गुणस्तर सुधार केवल समिति वा शिक्षकको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण अभिभावक र समाजको साझा दायित्व हो,” अध्यक्ष घर्तीले भने।
बैठकमा विद्यालयको वर्तमान शैक्षिक अवस्था, भौतिक संरचना तथा आर्थिक पक्षबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सो अवसरमा शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार र विद्यालयलाई अनुशासित तथा प्रतिस्पर्धी बनाउने विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरिएको छ।
अध्यक्ष घर्तीले सीमित स्रोतसाधनका बाबजुद पनि विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित समिति सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“हामी सबैको सक्रियता र सहयोग रहेमा पाण्डबखानी माविलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ,” उनले जोड दिए।
उनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नवीन सुनारले गर्नुभएको थियो।


