सुरेश छन्त्याल
बागलुङ – गल्कोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा २९औँ वार्षिकोत्सव तथा माघे सङ्क्रान्ति मेला सम्पन्न भएको छ।
ऐतिहासिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित पुस २८ गतेदेखि सुरु भएको मेला आज औपचारिक रूपमा समापन गरिएको हो।
मेलामा खेलकुद, सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रतियोगिताहरू आयोजना गरिएका थिए। कुर्ची दौड प्रतियोगितामा दिपा श्रीस प्रथम, सुस्मिता श्रीस बराल द्वितीय र धनमाया श्रीस तृतीय स्थान हासिल गर्न सफल भए। पुरुष भलिबल प्रतियोगितामा सरस्वती युवा क्लब रमुवा प्रथम र शान्ति युवा विकास मञ्च द्वितीय भएका छन्। यस्तै पौड पुरुष भलिबलतर्फ सरस्वती युवा क्लब रमुवाले प्रथम स्थान हासिल गर्दा आयोजक टिम (A) दोस्रो भएको छ। महिला भलिबल प्रतियोगितामा रणसिंह युवा समूह प्रथम र धर्म पोखरी समाज रिघा द्वितीय भएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गल्कोट नगरपालिका–१० का वडाध्यक्ष भक्तबहादुर काउचाले यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै युवालाई सकारात्मक दिशामा परिचालन गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले माघे सङ्क्रान्ति जस्ता मौलिक पर्वलाई मेलामार्फत निरन्तरता दिनु पहिचान संरक्षणको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो।
कार्यक्रम पञ्चधारा युवा परिवारका अध्यक्ष चन्द्रलाल काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कर्णबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भ्रमन श्रीस र खड्क श्रीसले संयुक्त रूपमा गर्नुभएको थियो।


