
सामुदायिक रेडियो गलकोट १०२.४ मेगाहर्जले आफ्नो १४ औँ वार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न गर्दै १५ औँ वर्षमा प्रवेश गरेको छ। “समृद्ध गलकोटका लागि सामुदायिक रेडियो गलकोट” भन्ने मूल नारासहित सञ्चालित यस रेडियोले ग्रामीण भेगमा सूचना, शिक्षा, संस्कृति र सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको बताइएको छ।
कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सल्लाहकार समिति संयोजक गुमानसिंह बुढाथोकीले रेडियोले सत्य, तथ्य र सन्तुलित समाचारमार्फत नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले ग्रामीण जनजीवनका कथा, कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत रेडियोको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो।
सो अवसरमा रेडियोमा लामो समयदेखि सेवा पुर्याएका स्टेशन म्यानेजर जीवनकला खत्री (सरिता) र बजार प्रतिनिधि कृतिका मल्ललाई बिदाइ तथा सम्मान गरिएको छ। १२ वर्षदेखि कार्यक्रम प्रस्तोता, संयोजक हुँदै स्टेशन म्यानेजरका रूपमा कार्यरत खत्री र दुई वर्षदेखि बजार प्रतिनिधिका रूपमा रहेकी मल्ललाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रम सामुदायिक रेडियो गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोषाध्यक्ष ढालिन्द्र प्रसाद गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव विर बहादुर चोखालले गर्नुभएको थियो।


