
सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानी
गलकोट नगरपालिका–१० पाण्डबखानीमा रहेका पेन्सन प्राप्तकर्ताहरूलाई लक्षित गर्दै घुम्टे मनि ट्रान्सफरले एभरेष्ट बैंक लिमिटेडको सहकार्यमा घरदैलोमै पेन्सन वितरण गरेको छ।
वर्षायामको विषम मौसम र दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राख्दै स्थानीय वृद्धवृद्धालाई राहत दिने उद्देश्यले यही साउन महिनामा पेन्सन वितरण गरिएको हो।
जनकल्याणकारी भूपू सैनिक संघका कोषाध्यक्ष हं. गंगा घर्ति पुनका अनुसार सिद्धथान र गहिराभाटी क्षेत्रका गरी ६५ जना पेन्सनरहरूलाई सोही क्षेत्रमै पुगेर रकम वितरण गरिएको हो।
घुम्टे मनि ट्रान्सफरकी सञ्चालिका मिना श्रेष्ठले स्थानमै सेवा पु-याउँदा वृद्धवृद्धाबाट पाएको आशीर्वादले आफूहरू हर्षित भएको बताइन्। साथै, यस्तो जनसेवामूलक कार्यको पहल गर्नुभएकी गंगा घर्ति पुनप्रति धन्यवादसमेत व्यक्त गरिन्।
स्थानमै सेवा पाउँदा वृद्ध नागरिकहरू निकै खुसी देखिन्थे। यातायात र समयको खर्च जोगिनुका साथै सहज सेवा पाउँदा उनीहरूले राहतको महसुस गरेका छन्।
स्थानीय तहसँग समन्वय गर्दै आगामी दिनमा अझ धेरै स्थानमा यस्ता सेवाहरू विस्तार गर्ने योजना रहेको सञ्चालिका श्रेष्ठले जानकारी दिइन्।


