Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

हिले दशैंको संकेत : सुरुवात सामान्य, मध्यतिर सक्रिय मनसुनको सम्भावना

Advertisement

Advertisement

पितृपक्ष (सोह्रश्राद्ध) सकिएर असोज ६ गते घटस्थापनासँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ। वर्षको सबैभन्दा ठूलो पर्व दशैं नजिकिँदै गर्दा यस वर्षको मौसमबारे चासो बढेको छ। मौसमविदहरूले सुरुवाती दिनमा सामान्य तर मध्यतिर मनसुन सक्रिय हुने अनुमान गरेका छन्।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार घटस्थापनादेखि करिब एक हप्ता देशभर मौसम खासै सक्रिय रहने छैन। बिहान र दिउँसो अधिकांश स्थानमा आंशिकदेखि सामान्य सफा मौसम रहने भए पनि साँझ–बेलुकी केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। तर दशैंको मध्य बेलादेखि मनसुन फेरि सक्रिय भई देशभर हिले दशैं हुने सम्भावना उच्च रहेको उनले बताए।

विपद् व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म मनसुन कायमै रहने संकेत देखिएको बताउँछन्। उनका अनुसार असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने प्रणाली विकसित हुँदैछ, जसको आंशिक प्रभाव नेपालका पूर्वी भूभागसम्म पर्न सक्छ। यसले मनसुन बाहिरिन ढिलाइ गराउने अनुमान छ।

मौसम पूर्वानुमानका लागि प्रयोग हुने विभिन्न मोडेलले फरक–फरक अवस्था देखाएका छन्। युरोपियन मोडेलले पूर्वी नेपालमा ठूलो वर्षाको सम्भावना देखाएको छैन तर भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षा हुने अनुमान छ, जसको असर नेपालका सुदूरपश्चिमसम्म पर्न सक्ने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले भने तीन दिनभन्दा बढीको पूर्वानुमान औपचारिक रूपमा नदिने भएकाले आधिकारिक जानकारीका लागि विभागको दशैं विशेष बुलेटिन पर्खन सुझाइएको छ। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा मध्यम खालको वर्षा सम्भावना छ भने भोलि र पर्सि अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

यस अनुसार सुरुवाती दशैंमा मौसम सामान्य रहे पनि दशमी आसपास मनसुन सक्रिय भई देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेकोले यात्रु तथा पर्व मनाउनेलाई सतर्क रहन र आधिकारिक अपडेट नियमित हेर्न विज्ञहरूको सुझाव छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.