Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

साउने सङ्क्रान्ति आज देशभर धुमधामसँग मनाइँदै

Advertisement

Advertisement

सौरमासअनुसार हरेक वर्ष साउन १ गते पर्ने साउने अर्थात् कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा तथा आफन्तजनसँग रमाइलो गर्दै मनाइँदैछ।

धार्मिक विश्वासअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि सूर्य दक्षिणतर्फ जान थाल्ने भएकाले दक्षिणायनको आरम्भ पनि यही दिनबाट हुने मानिन्छ।

धार्मिक ग्रन्थअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दुवैलाई विशेष दिनको रूपमा पूजा–आराधना गर्ने गरिन्छ।

नेपालका धेरैजसो किसान असार महिनाभर खेतीपातीमा व्यस्त रहने भएकाले साउन १ लाई विश्राम, भेटघाट र रमाइलोको दिनका रूपमा पनि लिइन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाको हिलोमैलोका कारण छालामा लाग्ने रोग हटाउन लुतो फाल्ने परम्परा पनि यही दिन पालना गरिन्छ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता वनस्पतिहरूलाई औषधीय मानिँदै घरघरमा राखिन्छ। साथै, कण्डारक नामका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन समेत छ।

यस अवसरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, ढोका बन्द गर्ने, घण्टा बजाउने आदि कार्यहरू गर्ने परम्परा नेपाली समाजमा प्रचलित छ।

साउन महिनालाई विशेषगरी भगवान् शिवको आराधना गर्ने पवित्र महिनाका रूपमा लिने गरिन्छ। विशेषतः महिलाहरूले हरियो चुरा, हरियो पहिरन र मेहँदी लगाएर साउनको पर्व मनाउने गर्दछन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.