गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानी सुनपानीस्थित शिवालय मन्दिर को पुनःनिर्माण कार्य सम्पन्न भई एक समारोहका बीच उद्घाटन गरिएको छ।
शुभ तिथिको अवसर पारेर आयोजित कार्यक्रममा स्थानीयवासी, श्रद्धालु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्दिर उद्घाटनसँगै पूजा–आराधना सम्पन्न गरिएको थियो भने सहभागी भक्तजनलाई प्रसाद वितरण तथा रुद्राक्ष मालाद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै समाजसेवी मानसिंह छन्त्याल ले धार्मिक सम्पदाको संरक्षणले समाजमा एकता, सद्भाव र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले मन्दिर आस्थाको केन्द्र भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
सुनपानी टोल विकास संस्थाका संयोजक तथा मन्दिर व्यवस्थापन समितिका संयोजक गंगबहादुर घर्ती पुन ले मन्दिर निर्माणका लागि देश तथा विदेशबाट २० लाख ३ हजार ३ सय ५५ रुपैयाँ सहयोग संकलन भएको जानकारी दिनुभयो। उक्त रकममध्ये १८ लाख ३० हजार ५ सय ५० रुपैयाँ खर्च भई बाँकी रकम व्यवस्थापन समितिको कोषमा सुरक्षित राखिएको उहाँले बताउनुभयो।
मन्दिर निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रगतिशील आमा समूह सुनपानीले संयोजक गंगबहादुर घर्ती पुन, कालिका स्पोर्ट युथ क्लबका अध्यक्ष दिप घर्ती तथा पत्रकार सुरेश छन्त्याललाई सम्मान गरेको थियो। साथै विभिन्न सहयोगदाताहरूलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो।
शिवरात्रिका दिन निर्माण कार्य सम्पन्न हुन नसकेपछि शुभ तिथिको अवसर पारेर उद्घाटन तथा पूजा एकैसाथ गरिएको आयोजकले जनाएको छ। धर्मशास्त्रअनुसार आज रातभर जागाराम बसी भोलिपल्ट बिहान विधिवत रूपमा समापन गर्ने परम्परा रहेको बताइएको छ।
कार्यक्रम गंगबहादुर घर्ती पुनको अध्यक्षता, गिरिमाया काउचाको स्वागत मन्तव्य तथा दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो l
गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानी सुनपानीस्थित शिवालय मन्दिर को पुनःनिर्माण कार्य सम्पन्न


