१५ कार्तिक, २०८२ — वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी पर्व मनाउँदै तुलसी र भगवान् दामोदर (विष्णु)को विवाह गरी विशेष पूजा अर्चना गर्दैछन्।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा विश्राममा गएका भगवान् विष्णु आजको दिन पुनः जाग्रत हुने धार्मिक विश्वास रहिआएको छ। यसै कारण यो दिनलाई “विष्णु जाग्ने दिन” पनि भनिन्छ।
यस अवधिमा चार महिनासम्म विवाह, व्रतबन्ध जस्ता मांगलिक कार्य नगर्ने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। आजका दिन घरघरमा तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ र तुलसीको विवाह भगवान् दामोदरसँग गरिन्छ।
धार्मिक मान्यताअनुसार तुलसी विष्णुप्रिया भएकीले आजको दिन तुलसी–दामोदर विवाह गर्दा पाप नाश भई मोक्ष प्राप्ति हुन्छ। तुलसीको मठमा निगालाको लिङ्ग गाडी विशेष पूजा, हवन तथा अग्निस्थापना विधि गरिन्छ।
शास्त्रअनुसार कात्तिक महिनाभर तुलसीमा देवदेवीहरूको निवास हुने मानिन्छ। तुलसीको सुगन्धले वातावरण पवित्र पार्ने र रोगाणु नष्ट गर्ने वैज्ञानिक तथ्य पनि जोडिएको छ। तुलसीको पात वा रसले रुघाखोकी, औलो लगायत रोगमा लाभ हुने भएकाले यसलाई “महा–औषधि” पनि भनिन्छ।
आजका दिन देशभरका नारायण मन्दिरहरूमा विशेष पूजा–आराधना भइरहेका छन्। धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा पनि विशेष मेला लागेको छ।
त्यसैगरी काठमाडौं उपत्यकाका चार नारायण—शेषनारायण, विशंखुनारायण, इचंगुनारायण र चाँगुनारायण—मा भक्तजनहरूको भीड लागेको छ।
काठमाडौँ पुग्न नसक्ने भक्तहरूले बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुर्व्यूह नारायणको दर्शन गरे पनि चारै नारायणको दर्शन बराबर फल प्राप्त हुने शास्त्रीय विश्वास छ।
धार्मिक ग्रन्थअनुसार आजको हरिबोधिनी एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र राजसूय यज्ञ बराबरको पुण्य फल प्रदान गर्छ।
(फलाहारमा सखरखण्ड, पिँडालु, र वनतरुल उसिनेर खाने प्रचलन छ, किनभने आज अन्न ग्रहण वर्जित छ।)


