Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

यस वर्षको भाइटीका कात्तिक ६ गते बिहान ११:३९ मा उत्तम साइत

Advertisement

Advertisement

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार उक्त साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग तथा विजय मुहूर्तमा परेको छ। उनका अनुसार सर्वसाधारणले भने मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुँदैछ। सोही दिनदेखि यमदीपदान, धन त्रयोदशी तथा धनतेरस पर्व पनि मनाइनेछ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्नेछ।

कात्तिक ३ गते सोमबार बिहान कुकुर तिहार र नरक चतुर्दशी स्नान तथा बेलुकी लक्ष्मीपूजा र दीपमालिका हुनेछ। गाई, गोरु र आत्मपूजा (म्ह पूजा) भने कात्तिक ५ गते बुधबार मनाइनेछ।

समितिले स्वीकृति दिएका तीन पञ्चाङ्ग (सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी) अनुसार पनि आत्मपूजा कात्तिक ५ गते नै पर्ने उल्लेख छ। सोही दिन नेपाल संवत् ११४६ सुरु हुनेछ।

शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवारी भाषामा भनिने किजा पूजा पनि कात्तिक ६ गते बिहीबार नै मनाइनेछ। समितिका अनुसार ‘भाइटीका’ शब्द ज्येष्ठ क्रमानुसार दाजुभाइबीच हुने भ्रातृपूजालाई जनाउँछ।

प्रत्येक वर्ष झैँ, यो वर्ष पनि कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म यमपञ्चक तिहार पर्व मनाइनेछ। यस अवधिमा यमदीपदान गरेर यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.