
दिपक सुवेदी ‘बिप्लव’
गल्कोट समाज जापानले जापानका मुख्य तीन शहर—ओसाका, नागोया र टोकियोमा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा साङ्गीतिक श्रृङ्खला २०२६ आयोजना गर्ने भएको छ।
“हाम्रो गाउँ, हाम्रो ठाउँ—हातेमालो गरी समृद्धि गराऔँ” भन्ने उद्देश्यसहित सामाजिक सेवाको उच्च भावना कायम राख्दै, गल्कोटेहरूको सद्भाव, एकता र सहकार्यलाई सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए।
सन् २००६ मा स्थापना गरिएको यस गैर–नाफामुखी संस्थाले गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय तथा पर्यावरणीय विकासमा हातेमालो गर्दै आएकाे छ। गल्कोट समाज जापान केवल गल्कोटमा मात्र नभई नेपालका विभिन्न जिल्लामा समेत सहयोग पु-याउँदै आएको सक्रिय र अग्रणी संस्था मानिन्छ।
यस वर्ष हुने साङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनात्मक नभई जन्मभूमिको उज्यालो भविष्यका लागि जीवनोपयोगी लगानी गर्ने महत्वपूर्ण अभियान भएको आयोजकहरू बताउँछन्।
📌 कार्यक्रमका मिति र स्थान
२०२५ डिसेम्बर ३१ — ओसाका
२०२६ जनवरी १ — नागोया
२०२६ जनवरी २ — टोकियो
“समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने मूल नारासहित साङ्गीतिक श्रृङ्खला आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिल ब. थापा (रामु) ले जनाए।
📌 आयोजक समिति (कार्य विभाजन)
मुख्य संयोजक: दिल ब. थापा (रामु)
उप–संयोजक: डिला गैरे
सांस्कृतिक संयोजक: लोकेश खत्री
आर्थिक संयोजक: महेन्द्र साहानी
प्रचार–प्रसार संयोजक: दिलीप कंडेल
टोकियो संयोजक: लक्ष्मण कार्की
नागोया संयोजक: राम थापा काजी
ओसाका संयोजक: नारायण थापा
कार्यविभाजन अनुसार समिति गठन गरिएको महासचिव दिलीप कंडेलले जानकारी दिए।
संस्थाका कोषाध्यक्ष तथा आर्थिक संयोजक महेन्द्र साहानीका अनुसार, विगतका वर्षहरूमा जस्तै यस वर्षको कार्यक्रमबाट संकलित रकम शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता सामाजिक क्षेत्रका योजनामा लगानी गरिनेछ।
गल्कोट समाज जापानले २० वर्षदेखि सामाजिक सेवाको विभिन्न आयामलाई निरन्तरता दिँदै आएको छ। यस वर्ष पनि साङ्गीतिक धमाका २०२६ मार्फत सामाजिक सेवाको अभियानमा एक महत्वपूर्ण इँटा थपिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
कार्यक्रम सफल बनाउन जापानभर रहेका सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था, क्लब तथा क्षेत्रीय समाजलाई उक्त मितिहरूमा आफ्ना कार्यक्रम नजुधाइदिन हार्दिक अनुरोध गरिएको छ।
त्यसैगरी, जापानबासी सम्पूर्ण नेपालीहरूलाई ओसाका, नागोया वा टोकियो—आफ्नो अनुकूल स्थानमा आर्थिक, नैतिक, भौतिक र उपस्थितिमार्फत सहयोग गर्न संस्थाका प्रवक्ता सन्तोष पुनले आग्रह गरेका छन्।


