
काठमाडौं, साउन २५ – नेपालको सांस्कृतिक राजधानी काठमाडौं उपत्यकामा आजदेखि एक महिने गुँला पर्व सुरु भएको छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व नेपाल संवतको नवौं महिनामा पर्ने भएकाले ‘गुँला’ भनिएको हो। नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नवौं’ र ‘ला’ को अर्थ ‘महिना’ हुने भएकाले यो नाम रहन गएको हो।
गुँला पर्व विशेषगरी बौद्ध धर्मावलम्बी समुदायले मनाउने गर्दछन्। बिहानैदेखि सुसज्जित बाजागाजाका साथ विभिन्न मठमन्दिर, चैत्य र बौद्ध विहारको परिक्रमा गर्दै भक्तजनहरू शहर घुम्ने परम्परा छ। बाँसुरी, खिं (एक प्रकारको मादल) लगायत परम्परागत वाद्यवाद्य बजाउँदै टोली बनाइ परिक्रमा गरिन्छ।
गुँला पर्वमा शाक्य र बज्राचार्य थरका समुदायको सक्रिय सहभागिता रहने गर्छ। साथै कंशाकार, मानन्धर, प्रजापति लगायतका समुदायहरूले पनि आफ्ना छुट्टै टोली बनाएर नगर परिक्रमा गर्ने गर्छन्। प्रत्येक टोल, क्षेत्र वा गुठीले आफ्ना मठमन्दिर र चैत्यमा परिक्रमा गर्ने तालिका अनुसार बाजागाजा सहित भ्रमण गर्छन्।
पर्वको एक महिनाको अवधिमा विशेष दिनहरूमा महत्वपूर्ण स्थलहरूको परिक्रमा गरिन्छ:
- नाग पञ्चमीमा भक्तपुरको चाँगुनारायण
- जनैपूर्णिमामा पाटनको बंगलामुखी
- कृष्ण जन्माष्टमीमा काठमाडौंको स्वयम्भुनाथ, विजेश्वरी, शोभा भगवती, जनबाहाल, मरुगणेश, सेतो मच्छिन्द्रनाथ
- गुँला प्रतिपदाको दिन ललितपुरको बुङमती, कार्यविनायक, खोकना, जलविनायक हुँदै चोभारको करुणामय (आदित्यनाथ)
भक्तपुरका सूर्यविनायक, राममन्दिर, नवदुर्गा, दत्तात्रय, पाचतल्ले मन्दिर, कमलविनायकजस्ता स्थलहरूको पनि परिक्रमा गरिन्छ।
धर्म, संयम र परम्पराको संरक्षण
कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा. इन्दुल केसीका अनुसार गुँला पर्व बौद्ध धर्मावलम्बीहरूको एक विशेष साधना काल हो। यो अवधिमा सहभागीहरूले माछा–मासु नखाई संयमित जीवन बिताउने परम्परा रहेको बताइन्छ।
भक्तपुरको मध्यपुर थिमीका कृष्णराम प्रजापतिका अनुसार गुँला बाजाको टोलीले बालकुमारीस्थित लोकेश्वर मन्दिरमा विशेष पूजा गरी पर्व समापन गर्ने चलन छ।
उनले भने, “आजको बदलिँदो समयसँगै परम्परा निभाउन कठिनाइ भए पनि यस्ता पर्वहरूले हाम्रो संस्कृति जोगाउने काम गर्छन्।” उनले यस्ता संस्कृति र परम्परालाई जोगाउन सरकारी तथा स्थानीय निकायको ध्यान पु¥याउनु पर्ने सुझावसमेत दिएका छन्।
एक महिनासम्म चल्ने गुँला पर्वमा बाजागाजासँगै लय, भक्ति र संस्कृति मिसिएको हुन्छ। तर पछिल्लो समय आर्थिक अभाव, युवाको सहभागिता घट्नु, र आधुनिकताको प्रभावका कारण परम्परागत धर्मबाजागाजामा चुनौती देखा परेको छ।
पर्वको मौलिकता जोगाइ राख्न र भावी पुस्तामा हस्तान्तरण गर्न सबै पक्षको सक्रियता आवश्यक देखिन्छ।
गुँला पर्व केवल बाजा र परिक्रमा मात्र होइन, धर्म, संस्कार र समुदायबीचको सहकार्यको प्रतीक हो। हाम्रो मौलिकता जोगाइराख्न यस्ता पर्वको संरक्षणमा सबैले हातेमालो गर्नु आजको आवश्यकता हो।


