काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले निर्वाचन प्रहरीसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। निर्वाचन सुरक्षाका लागि आवश्यक प्रहरी जनशक्ति भर्ना गर्न अर्थ मन्त्रालयले १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचनका लागि माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति जनाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। स्वीकृत मापदण्डअनुसार निर्वाचन अवधिभर ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गरिनेछ।
निर्वाचन प्रहरी व्यवस्थापनका लागि कुल ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोतसमेत सुनिश्चित गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसअन्तर्गत पहिलो पटक सशस्त्र प्रहरी बलबाट १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेटसमेत अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ।
निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन छिट्टै भर्ना प्रक्रिया सुरु गरिने गृह मन्त्रालयले जनाएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक तयारी पूरा गरी निकट भविष्यमै दरखास्त आह्वान गर्ने तयारी गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त जनशक्ति परिचालन गरिने सरकारको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।


