Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

९ लाख ५५ हजार महिला मतदाता, प्रत्यक्षतर्फ २५ महिला उम्मेदवार

Advertisement

Advertisement

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट १८ सिटमा २४७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसपटक गण्डकीमा १८ लाख ७० हजार ६५ जना मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाता संख्या बढी छ। कुल मतदातामध्ये ९ लाख ५५ हजार ५१६ महिला मतदाता रहेका छन्, जुन पुरुष मतदाता संख्या (९ लाख १४ हजार ५३५) भन्दा करिब ३९ हजारले बढी हो। यसबाहेक १४ जना अन्य मतदाता पनि रहेका छन्।
यद्यपि, महिला मतदाता संख्या धेरै भए पनि महिला उम्मेदवारको उपस्थिति भने कमजोर देखिएको छ। मंगलबार सम्पन्न मनोनयन दर्तामा गण्डकी प्रदेशबाट प्रत्यक्ष निर्वाचनतर्फ जम्मा २५ जना महिला उम्मेदवार मात्र रहेका छन्।
नेकपा एमालेले तनहुँ–१ बाट राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ। बागलुङ–२ बाट एमालेकै मञ्जु शर्मा चालिसे उम्मेदवार बनेकी छन्। मनाङमा नेपाल कम्युनिष्ट पार्टीले यशोदा गुरुङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–३ बाट बिना गुरुङलाई उम्मेदवार उठाएको छ। उज्यालो नेपाल पार्टीले कास्की–१ बाट मनिषा द्वालाई उम्मेदवार बनाएको छ। यी बाहेक अन्य साना दल तथा स्वतन्त्रतर्फबाट समेत गरी गण्डकीमा कुल २५ जना महिला उम्मेदवार प्रत्यक्ष निर्वाचनमा सहभागी छन्।
ठूला दलमध्ये नेपाली कांग्रेसले भने गण्डकीमा प्रत्यक्षतर्फ एकजना पनि महिला उम्मेदवार नउठाएको देखिएको छ। गण्डकीका ११ जिल्लामध्ये लमजुङ, म्याग्दी र स्याङ्जामा दलगत वा स्वतन्त्रतर्फ कुनै पनि महिला उम्मेदवार छैनन्।
जिल्लागत रूपमा हेर्दा कास्कीबाट सबैभन्दा धेरै ५ जना महिला उम्मेदवार रहेका छन्। पर्वत र नवलपुरबाट ५/५ जना, बागलुङ, गोरखा र तनहुँबाट २/२ जना तथा मनाङ र मुस्ताङबाट १/१ जना महिला उम्मेदवार छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार लमजुङमा १२, नवलपुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पर्वतमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोरखामा २७, स्याङ्जामा २८ र कास्कीमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार बने पनि पछि उम्मेदवारी फिर्ता लिएका छन्। लमजुङबाट पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ र तनहुँ–२ बाट पूर्वमन्त्री शंकर भण्डारी चुनावी मैदानमा छन्। गुरुङ एमालेबाट र भण्डारी कांग्रेसबाट उम्मेदवार बनेका हुन्।
यसपटक उम्मेदवारी दिने अधिकांश उम्मेदवार संघीय संसदका लागि नयाँ अनुहार रहेका छन्। म्याग्दीबाट वैज्ञानिक महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनलाई सहयोग गर्ने जनाएको भए पनि पार्टीको उम्मेदवारी कायमै राखेको छ।
मनाङमा राप्रपा र एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि तीनजना मात्र मैदानमा छन् भने मुस्ताङमा एक सिटका लागि आठ उम्मेदवार प्रतिस्पर्धामा छन्। दुई सिट रहेको तनहुँमा २८ उम्मेदवार चुनावी मैदानमा छन् भने कास्कीमा तीन सिटका लागि सबैभन्दा बढी ४९ उम्मेदवार रहेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.