काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति तथा चरित्र हत्या गर्ने उद्देश्यका सामग्रीहरू नियन्त्रण गर्न निगरानी प्रणालीलाई थप कडा बनाएको छ। आयोगले यसका लागि फेसबुकको मातृ कम्पनी मेटा र टिकटकसँग सहकार्य गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अनलाइन प्लेटफर्मबाट हुने भ्रामक सूचना, डेटा ब्रिच, हेट स्पिचजस्ता गतिविधिको रोकथाम तथा न्यूनिकरणका लागि आयोगले नेपाल सेना र नेपाल प्रहरीसँगको समन्वयमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सफ्टवेयर ‘ई–मनिटर प्लस’ प्रयोगमा ल्याउन लागेको हो।
आयोगका अनुसार आगामी सातादेखि उक्त प्रविधि औपचारिक रूपमा प्रयोगमा आउनेछ। सो सफ्टवेयरमा समयअनुसार आवश्यक कि–वर्डहरू थप्दै लैजाने योजना रहेको छ। ‘ई–मनिटर प्लस’ ले विशेष गरी देवनागरी लिपि, रोमन नेपाली तथा अंग्रेजी भाषामा लेखिएका सामग्रीहरू पहिचान, विश्लेषण र निगरानी गर्न सक्ने क्षमता राख्ने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता २०८२ ले सामाजिक सञ्जालमा झुटा साइट सञ्चालन गर्ने, एआई प्रविधि प्रयोग गरी निर्वाचनलाई प्रभावित पार्ने भ्रामक सामग्री उत्पादन गर्ने, सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने तथा द्वेषपूर्ण भाषण (हेट स्पिच) फैलाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ।
आचारसंहिता विपरीत गतिविधिमा संलग्न उम्मेदवार वा मतदाता दोषी देखिएमा स्पष्टिकरण सोध्ने देखि उम्मेदवारी रद्द गर्ने सम्मको कडा कारबाही गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
सामाजिक सञ्जालमा फैलिने गलत सूचनामाथि निर्वाचन आयोगको निगरानी तीव्र


