तमानखोला, बागलुङ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङको तमानखोलामा वडा भेला सम्पन्न गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा रास्वपाले जिल्लाका विभिन्न स्थानीय तह र वडाहरूमा आफ्नो साङ्गठनिक गतिविधि र चुनावी अभियानलाई तीव्रता दिएको हो।
परिवर्तनका लागि घण्टीमा मतदान गर्न आग्रह
भेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रिय सदस्य मोहनजंग थापाले देशमा नयाँ राजनीतिक संस्कार र सुशासनका लागि रास्वपाको विकल्प नरहेको बताउनुभयो। उहाँले आसन्न निर्वाचनमा रास्वपाका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार सोम शर्माले यस क्षेत्रको समग्र विकास र जनअपेक्षा पूरा गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो— “क्षेत्र नम्बर २ को विकास र यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउन मेरो जित आवश्यक छ। यसका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरू एकजुट भएर लाग्नुपर्ने समय आएको छ।”
नेताहरूको उपस्थिति
कार्यक्रममा रास्वपाका तर्फबाट समानुपातिक उम्मेदवारहरू गंगा छन्त्याल र चर्चित गायक तथा कलाकार प्रकाश सपुतले समेत आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले पार्टीको नीति, सिद्धान्त र आगामी योजनाका बारेमा प्रष्ट पार्दै मतदाताहरूमा नयाँ उत्साह का साथ उपस्थित भएका थिए l


