सुरेश छन्त्याल
गलकोट। गलकोट नगरपालिका वडा नम्बर–१० पाण्डबखानीका निवर्तमान वडा सदस्य तथा समाजसेवी धनबहादुर थापाको व्यक्तिगत लगानीमा सुनपानी र गहिराभाटि जोड्ने मोटरबाटो मर्मत गरिएको छ।
वर्षायामका कारण सडक जीर्ण बन्दा स्थानीयवासीलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो। स्थानीयको समस्या समाधान गर्ने उद्देश्यले थापाको पहलमा आफ्नै खर्चमा सडक मर्मत कार्य गरिएको हो।
सडक मर्मतपछि सवारी आवागमन सहज बनेको छ। यससँगै स्थानीयवासीले समेत राहत महसुस गरेका छन्।
सडक मर्मतबारे समाजसेवी थापाले भने,
“विकासका काम सधैं सरकारकै मुख ताकेर मात्र बस्नुपर्छ भन्ने छैन। आफ्नो ठाउँ, आफ्नो समुदायका समस्या समाधान गर्न सके त्यो नै ठूलो सेवा हो। स्थानीयलाई आवतजावतमा सहजता मिलोस् भन्ने सोचले व्यक्तिगत रूपमा सडक मर्मत गरेको हुँ।”
सामाजिक जिम्मेवारी वहन गर्दै स्थानीय विकासमा योगदान पुर्याएको भन्दै स्थानीयवासीले धनबहादुर थापाप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्।


